शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
आजदेखि एक महिने रमजान पर्व सुरु
जेठ ४, २०७५ | फिरोज शेख

फिरोज शेख लहान २०७५ जेष्ठ ४ - 
इस्लाम धर्मावलम्बी मुस्लिम समुदायको रमजान पर्व आज  शुक्रबार  देखि सुरु भएको छ । इस्लामी पात्रो हिजरी संवत्अनुसार विश्वभरका इस्लाम धर्मावलम्बी मुस्लिमहरु एक महिनासम्म निराहार  रोजा (व्रत) बस्ने गर्दछन।  इस्लामका पाँच आधार स्तम्भ इमान (आस्था), नमाज (प्रार्थना), हज (तीर्थ), जकात (दान) र कलमा मध्ये रोजा (व्रत) एक खम्बा हो । अरू महिनाका तुलनामा ‘रमजान मुबारक’ महिनालाई मुसलमानले पवित्र महिनाका रूपमा विश्वास गर्छन् ।

रमजान महिना दान गर्ने महिना पनि हो । धनाढ्यले गरिब र विपन्नलाई आर्थिक सहयोग समेत गर्छन् । शास्त्रअनुसार बालिग (वयस्क)  मुस्लिमलाई रोजा अनिवार्य छ । धनी, गरिब कसैलाई छुट छैन । मुस्लिम समुदायमा रमजानले विशेष महत्त्व राख्छ । रमजान महिनामा नै इस्लामका प्रवर्तक हजरत मोहम्मदमाथि कुरआनका आयात (श्लोक) अवतरण सुरु भएको थियो । रमजान महिनाको अन्तिम दसांशको कुनै एक बिजोडी रातमा कुरआनको अवतरण सुरु हुन थालेको थियो । रोजा बस्ने व्यक्तिले सूर्योदय हुनुभन्दा झन्डै डेढ घण्टा पहिलेदेखि सूर्यास्त नहुन्जेलसम्म कुनै पनि खानेकुरा सेवन गर्दैनन् । रोजा बस्नाले मानिसमा आज्ञापालन, अनुशासन, नम्रता, सत्प्रियता, संयम, सहनशीलता, सदाचारी, त्याग, परोपकार, दया, दानशीलता लगायतका आचरणमा विकास आउने जन विश्वास छ । यो महिना लाई  कुरआनको वाचन, नमाज पढ्ने र गरिब एवं विपन्नहरूलाई सहयोग गर्ने महिनाको अवसरमा पनि लिईन्छ । नाबालिक अवस्था, भोक तिर्खा सहन नसक्ने बुढ्यौली अवस्था, सिकिस्त बिरामी, रजस्वला भएकी महिला र सुत्केरीका लागि रोजा अनिवार्य छैन ।

जानीजानी खानपिन गर्नाले, शक्तिवद्र्धक सुई लिनाले, नशाबाट औषधि प्रवेश गराउनाले अर्थात् स्लाइन चढाउनाले, वीर्य स्खलन गर्नाले र बान्ता निलेमा व्रत अन्त्य (भंग) हुन्छ । शरीरमा तेल लगाउनाले, दाँत माझ्नाले, भुलेर खानपिन गर्नाले, स्वप्नदोष हुनाले, बान्ता हुनाले, सुगन्ध वा सेन्ट लगाउँदा भने रोजा भंग हुँदैन ।
सूर्यास्त भएपछि रोजा बस्नेहरू केही खाने कुरा खाएर रोजा तोड्छन्, त्यस कार्यलाई ‘इफ्तारी गर्नु’ भनिन्छ । विशेषगरी इफ्तारमा खजुर, मिठाइ, फलफूललगायत खानेकुरा खाइन्छ ।

रमजान महिनाको अन्तिम दस भागका पनि विजोडा रातहरू अझ महत्त्वपूर्ण मानिन्छन् । एक महिने रोजाका अन्तिम विजोडी रातहरू २१, २३, २५, २७ र २९ ले विशेष महत्त्व राख्छ । ती बिजोडा रातमध्येको कुनै एक रातमा साउदी अरबको हेरा भन्ने गुफामा अल्लाहको ध्यानमा केन्द्रित भइरहेको बेला ‘जिब्रिल’ भन्ने देवदूतमार्फत पहिलो पटक मोहम्मदमाथि पवित्र धर्मग्रन्थ कुरआन अवतरण भएको थियो ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.