शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
‘नेपाल भ्रमण वर्ष २०२०’ सफल बनाउन व्यापक प्रचार - प्रसार
आश्वीन ९, २०७६ | फिरोज शेख

फिरोज शेख लहान २०७६ असोज ९ - 
सिरहाको लहानमा अवस्थित होटल दरबारको सभा हलमा ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई कसरी सफल बनाउने सम्बन्धि छलफल कार्यक्रम सम्पन्न भएको छ। भ्रमण वर्ष प्रदेश समन्वय समितिका संयोजक मनिष झाको अध्यक्षता तथा प्रदेश उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री रामनरेश रायको प्रमुख आतिथ्यमा भएको उक्त कार्यकममा ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सफल बनाउन मन्त्री रामनरेश रायले प्रदेश अन्तर्गत पर्ने जिल्लास्थित धार्मिक, पुरातात्विक र सांस्कृतिक धरोहरहरुको व्यापक प्रचार - प्रसार गर्नु पर्नेमा जोड दिएका छन् । नेपाल भ्रमण वर्ष २०२० को तयारी अन्तर्गत बुधबार सिरहाको लहानमा आयोजित प्रदेश स्तरीय छलफलमा पर्यटन मन्त्री रायले आफ्नै ठाउँको सांस्कृतिक धरोहरलाई प्रदेश स्तरमा मात्र पनि चिनाउन र बुझाउन सके धार्मिक पर्यटकहरुलाई आकर्षित गर्न सकिने भएकाले प्रचार - प्रसार गर्नुपर्ने औंल्याएका छन्। ‘त्यसका लागि धार्मिक, पुरातात्विक, सांस्कृतिक धरोहरहरुको यकिन गरी दस्तावेजीकरण गरौं’ ‘आफ्नै ठाउँबाट केही गरौं, केन्द्रीय सरकारको मुख नताकौं ।’ प्रदेश स्तरमा भ्रमण वर्षका लागि मन्त्रालयले सक्दो सघाउने प्रतिबद्धता जनाउँदै ‘छिन्नमस्ता, सलहेश, राजदेवी स्थान, सती बिहुला, बाखर बनौली जस्ता ठाउँहरुलाई चिनाउन सक्यौं भने पर्यटक आकर्षित गर्न सकिने उनको दाबि छ।

त्यस्तै सिरहाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले पर्यटक ल्याएर मात्र हुँदैन, खर्च गर्ने वातावरण बनाउन होटल, यातायात व्यवसायीहरुको व्यवहारले पनि काम गर्ने बताए । ‘होटल तथा यातायात व्यवसायीहरुको व्यवहार, सत्कार लगायतले पनि पर्यटक बसाइ लम्बिने र खर्च गर्न सक्ने वातावरण बनाउने भएकाले त्यसतर्फ ध्यान दिन जरुरी रहेको तर्क गरे।

त्यस्तै जिल्ला समन्वय समिति सिरहाका प्रमुख रामचन्द्र ठाकुरले प्रदेश अन्तर्गतका जिल्लाहरुमा आन्तरिक तथा बाह्य पर्यटकहरु भित्र्याउन कार्ययोजनासहित अगाडि बढ्नु पर्ने बताए । जिल्लाका धार्मिक पर्यटकीय स्थलहरुको प्रचारात्मक सामग्री बनाएर प्रचार अभियानमा जुटन आग्रह गरे। भ्रमण वर्ष २०२० हुन् करिब तीन महिना बाँकी रहेपनि अहिलेसम्म प्रदेशका लागि बजेट र कार्यविधि नपाएको भ्रमण वर्ष प्रदेश समन्वय समितिका संयोजक मनिष झाले गुनासो गरे। संघीय सरकारले उपेक्षा गरेपछि प्रदेश सरकारको पहल तथा आफन्त इष्टमित्रहरुको सहयोगमा कार्यक्रम गरिरहेको उनको भनाई थियो । ‘त्यसका अतिरिक्त समितिकै बलबुतामा आठ वटै जिल्लाका मुख्य ४० वटा धार्मिक पर्यटकीय, सांस्कतिक धरोहरहरुको पोष्टर प्रकाशन गरी होटल तथा पर्यटन व्यवसायीमार्फत् होटलमा राख्दैछौं ।’ त्यसका साथै ४० वटै ठाउँको संक्षिप्त जानकारीसहितको बुकलेट तयार गरी ट्राभल एजेन्सीहरुमार्फत् वितरण गरिने योजना रहेको उनले बताए । कार्यक्रममा उपस्थित प्रदेश अन्तर्गत आठ जिल्लाबाट आएका होटल तथा पर्यटन व्यवसायीहरुको प्रदेश स्तरीय कार्ययोजना बनाउने समितिका सदस्य तथा लहान नपा ७ का अध्यक्ष रोशन गुप्ताले जानकारी दिएका छन्।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.