शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
ईस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमजान शुरु
बैशाख १, २०७८ | फिरोज शेख

फिरोज शेख लहान २०७८ बैशाख ०१ - 
ईस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमजान बुधबार देखि सुरु भएको छ। नयाँ वर्षसँगै रोजा ब्रत सुरु हुनु सम्भवतः यो पहिलो भएको मुस्लिम अगुवाहरु बताउँछन्। रमजानमा एक महिनाभर मुस्लिम समुदायले बिहान सूर्योदय हुनु अघिदेखि सूर्यास्त नभएसम्म पानीसमेत खाँदैनन्। उर्दू क्यालेण्डर अनुसार बिहान ४: १५ बजेबाट बेलुका ६:२० बजेसम्म निराहार एक महिना सम्म बस्नुलाई रोजा भनिन्छ। रोजाको समय दैनिक सूर्य उदाउने र अस्ताउने समयसँगै समय तालिका पनि परिवर्तन भइरहन्छ। रोजा बस्न बिहान तोकिएको समय अगावै र बेलुका तोकिएको समयपछि आहार लिने गर्दछन्। रमजान उर्दू क्यालेण्डर अनुसार हिजरी सम्बत् १४४२ हो भने रमजान महिना नवौँ महिना हो। रमजान महिनामा नै मुस्लिमहरुको सबै भन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो भने यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने जन विश्वास रहेको छ।

दान दिनु गरीब र दीनदुःखीलाई सेवा गर्नु, जकात निकाल्नु यो महिनाको ठूलो विशेषता हो। रमजानानको व्रत बस्न हिजो साँझ मुस्लिम समुदायले चन्द्रमा हेरेर एक अर्कालाई रमजानको शुभकामना आदान-प्रदान शुरु गरेका छन्। लहान-५ का वडा अध्यक्ष सुलेमान मिया अन्सारीका अनुसार रमजान महिना मुस्लिम समुदायका लागि निकै महत्वपूर्ण एवं पवित्र महिना हो र यसमा मुसलमानका पाँच आधार स्तम्भमा हज बाहेक सबै स्तम्भ पूरा हुने गर्दछ। शरीरलाई चोखो राखेर मात्र रोजा बस्नुपर्छ। कुलतमा लागेका मानिस एक महिना इमान्दारीपूर्वक रोजा बस्न सक्यो भने चुरोट, खैनी, गुट्खा आदि पदार्थ खाने बानीमा परिवर्तन आउन सक्ने उनले बताए।

व्रतका बेला मुस्लिम समुदायले मस्जिदमा गइ कुरानको केही भागका रुपमा नमाज पढ्ने गर्छन्। एक महिनापछि व्रत समापनका अवसरमा पनि सामाजिक दूरी कायम गरेर इदुल फित्र मनाइने तयारी भइरहेको वडा अध्यक्ष अन्सारीले बताउनु भयो। त्याग, तपस्या र बलिदान सबै जोडिने यो महिनामा मुसलमान रोजा बस्नुलाई गर्व मान्दछ। नाबालक, बिरामी, घातक रोग लागेका र गर्भवती महिलालाई रोजा बस्न अनिवार्य छैन।देशभरका मुस्लिम समुदायले भक्तिको महिनाका रुपमा मनाउने भएकाले यसबाट पाप नाश हुने धार्मिक विश्वास रहेको छ। वर्षमा कुनै त्रुटि भएको भए यसै अवसरमा अल्लाहसँग क्षमायाचना गर्ने मुस्लिम समुदायको परम्परा छ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.