सिरहा लहान २०७९ असार ६ -
प्रहरीले सिरहाको लहान बाट ठूलो मात्रामा लागूऔषध सहित तिन जनालाई पक्राउ गरेको छ। हिजो इलाका प्रहरी कार्यलय लहानका डिएसपी कुमार प्रसाद मैनालीको कमाण्डमा खटेको प्रहरी टोलीले लागूऔषध सहित दुई भारतीय नागरिक सहित तीनजना लाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा भारतको बिहार राज्य मधुवनी जिल्ला पंचायत राजनगर थाना फेरण श्रीपट्टी ७ घर भई लहान ५ बस्दै आएका २१ वर्षीय मोहमद अखतर, ग्राम पंचायत खरियोग थाना पिप्राही १ बस्ने २७ वर्षीय धर्मेन्द्र कुमार ठाकुर र लहान ७ बस्ने १८ वर्षीय गौतम ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
आइतवार बेलुकी ६ बजे र राति ११ बजे ईलाका प्रहरी कार्यालय लहानबाट डिएसपी कुमार प्रसाद मैनालीको नेतृत्वमा खटेको प्रहरी टोलीले विशेष सुचनाको आधारमा लहान नगरपालिका–८ स्थितमा मो. अफजलले संचालन गरेको आल्मुनियम पसल र लहान–१ स्थितमा रहेको दयाराम ठाकुरको घरमा खानतलासी गर्दा लागूऔषध फेला परेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक शुभाष बुढाथोकीले जानकारी दिए ।प्रहरीले पसल र घरबाट फेनरागन ६४५ एम्पुल, डाईजिल्याव ६४५ एम्पुल, व्युप्रिनोर्फिन ६४५ एम्पुल, नाईट्राभेट ४८० ट्याब्लेट, डाईलेक्स डि.सी. ४३९ बोतल र स्पामोप्रोक्सिभिन ४३२ ट्याब्लेट बरामद गरेको छ । यस्तै प्रहरीले ज १ प ४७५८ नम्बरको मोटरसाईकल, नगद ४३ हजार ५ सय रुपैयाँ र ३ वटा मोबाइल बरामद गरेको जनाएको छ।यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।