शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहान बजारमा म्याद गुज्रिएका पेय पदार्थ बिक्री–वितरण हुँदै
बैशाख २९, २०८१ | फिरोज शेख

फिरोज शेख लहान २०८१ बैशाख २९ -
सिरहाको लहान नगरपालिका भित्र व्यापार गर्ने अधिकांश व्यापारीले म्याद गुज्रेका उपभोग्य वस्तुको बिक्री गर्ने गरेको जनगुनासो बढेको छ । बजारको अनुगमन र नियमन प्रभावकारी नहुँदा स्थानीय व्यापारी ढुक्क भई म्याद गुज्रिएका उपभोग्य वस्तु बिक्री वितरण गर्ने गरेको पाइएको छ । लहान बजारमा रहेको अधिकांश पसलमा म्याद गुज्रेका खाद्य वस्तु बिक्री हुने गरेको उपभोक्ताको आरोप छ । गर्मीको मौसममा अत्यधिक बिक्री हुने चिसो पेय पदार्थ, अपारदर्शी डिब्बामा प्याक भएका कथित जुस, धुलो मसला, प्लास्टिकजन्य वस्तुमा संवेष्टन गरिएका खानेतेल, चाउचाउ, कुरकुरे, बिस्कुट, ‘ड्राईफ्रुट्स’ लगायत म्याद गुज्रेका औषधि समेत धेरै पटक फेला परिसकेको छ।

लहान बजारको एक पसलबाट शुक्रबार एक उपभोक्ताले आफ्नो घरका लागि एक बन्डल जुस (फ्रुटी) खरिद गर्दा दुई महिना पहिला नै म्याद गुज्रेको फ्रुटी फेला परेका छन्। त्यस पश्चात त्यस पसलमा रहेका फ्रुटीको सबै बन्डल खोलेर हेर्दा सबै म्याद गुज्रिएका नै फ्रुटी फेला परे। उत्पादन भएको नौ महिना सम्म खान योग्य हुने उक्त फ्रुटीको उत्पादन मिति २९/०६/२०२३ रहेको थियो।

उद्योग र डिलरहरुले म्याद सकिनै लागेका सामानहरु जिल्ला भित्रयाउने र ती सामान बजार तथा उपभोक्तासम्म पुग्दा म्याद गुज्रिने गरेको पाइएको छ भने कतिपय डिलरले म्याद गुज्रेका फ्रुटीको स्किम निकालेर एउटामा एउटा फ्री भन्दै बजारका पसलेहरुलाई दिनेगरेको स्रोतको दाबि छ। उपभोक्तामा चेतनास्तर कम भएको र गाउँ तथा भौगोलिक विकटता रहेका क्षेत्रमा व्यापारीले म्याद सकिएका सामान पठाएर विक्रि गर्ने गरेका छन् । जसका कारण उपभोक्ताको स्वास्थ्यमा प्रतिकुल असर परिरहेको छ। बजारमा म्याद गुज्रिएका सामानहरु पटक -पटक फेला परे पनि सम्बन्धित निकायको अनुगमन फितलो देखिएको छ। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.