शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहानको दुई केन्द्रबाट करिब पाँच बोरा चिट बरामद
असाड २, २०७४ | सरगम खबर समाचारदाता

लहान २०७४ असार २ गते - 
राष्ट्रिय जनता पार्टी (राजपा)को बन्दको कारण एकातिर ११ कक्षाका विद्यार्थीहरुलाई परीक्षा केन्द्रसम्म पुग्न सास्ती भएको छ भने अर्कोतिर आन्दोलनको माहौलमा चिट चोरी गर्ने अवसर पनि प्राप्त भएको छ ।आन्दोलनको माहौलले गर्दा परीक्षाको मर्यादा कायम हुन सकेको छैन । रा.ज.पा.ले निर्वाचन रोक्न तराईमा आन्दोलन गरेको छ । आन्दोलनका कारण वजार, यातायात शैक्षिक संस्था आदि सवै ठप्प छ । तर यसको नाकारात्मक असर ११ कक्षाको परीक्षामा समेत परेको छ । परीक्षा मर्यादा विहिन तरिकाले संचालन भएको पाइएको छ । विद्यार्थीहरु गेस पेपर, गाईड बुक, र चिटसहित परीक्षा केन्द्रमा प्रवेश गरे । परीक्षा हलभित्र खुलेआम चोरी र नक्कल चलिरह्यो । परीक्षामा गार्ड वस्ने शिक्षकहरुलाई चिट र गाईड बुक खोस्न हम्मेहम्मे पर्यो । परीक्षा कोठा भित्रवाट वोराका बोरा गाईड बुक र चिट निस्केको छ । 

लहानस्थ्ति ल. ल. कु. उच्च मा. वि. र पशुपति आदर्श उच्च मा.वि. मा जिल्ला शिक्षा अधिकारी अरविन्द लाल कर्णको निरीक्षण टोली पुगेपछि विद्यार्थीहरुवाट खोसिएको चिटले बोरा भरिएको छ । ति दुई केन्द्रबाट करिब पाँच बोरा चिट बरामद भयो । दुबै परीक्षा केन्द्रबाट डेक्समै गेसपेपर तथा चिट राखेर खुलेयाम चोरी गरिरहेका करिब २५ जना विद्यार्थीको शिक्षा अधिकारी कर्णले काँपी खोसेका थिए ।

परीक्षा केन्द्रमा नक्कली गार्डहरु समेत फेला परेका छन् । विद्यालय प्रसाशनदेखि विद्यार्थीहरु समेतलाई आन्दोलनको माहौलले वेथिति गर्ने अवसर प्रदान गरेको छ । यातायात बन्दको कारण यातायात नचलेपछि परीक्षा केन्द्रसम्म पुग्न साधन नभएका कारण धेरै विद्यार्थीहरुको परीक्षा छुटेको छ । सिरहाको लहानस्थित पशुपति आदर्श उच्च मा.वि. परीक्षा केन्द्रमा ४ सय ८३ विद्यार्थीहरुले परीक्षा दिनु पर्नेमा २९ जना अनुपस्थित देखियो । त्यसैगरी ल.ल. कु मा.वि. लहान परीक्षा केन्द्रमा पनि करिब २५ जना विद्यार्थी अनुपस्थित भए । टाढा घर हुने विद्यार्थीहरु यातायातको साधन विना परीक्षा केन्द्रसम्म पुग्न नसकेपछि परीक्षा दिनबाट बञ्चित भएका छन् ।

ल.ल.कु.उच्च मावि परीक्षा केन्द्रमा एउटा डेक्समा चार जना विद्यार्थी राखेर परीक्षा लिइरहेको पाइयो । एउटा डेक्समा २ जना परीक्षार्थीलाई मात्र राख्न पाउने व्यवस्था छ । चार जना परीक्षार्थीलाई एउटै डेक्समा राखेर परीक्षा लिँदा एकले अर्काको काँपी सार्ने गरेको भेटियो । तर परीक्षार्थीको संख्या बढेको र डेक्स बेन्चको अभाव भएका कारण एउटै डेक्समा ४ जनालाई बसाउनुपरेको बताएको छ ।

परीक्षा संचालका लागि सधैं एउटै गार्डलाई राख्नुपर्ने हुन्छ । तर सिरहाका निजी विद्यालयहरुले आफ्नो विद्यार्थीको बढी मार्क ल्याउनका लागि सुपरिडेन्टलाई रकम खुवाएर दिनहुँ विषयगत शिक्षकलाई गार्ड राख्ने गरेको स्रोतको दावी छ । शिक्षा अधिकारी कर्णले विहिबार राखेकै गार्डलाई सधै राख्न निर्देशन दिँदै गार्ड परिवर्तन भएको पाइएमा कारबाही गर्ने चेतावनी दिएका छन् । सिरहामा कुल ३९ वटा उच्च मावि संचालनमा रहेको छ । ति उच्च माविबाट नियमित ४ हजार ७०३ र आंशिक १ हजार ५५२ गरी कूल ६ हजार २५५ विद्यार्थी कक्षा ११ को परीक्षा दिदैछन् । परीक्षाका लागि १२ वटा परीक्षा केन्द्र तोकिएको छ ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.