फिरोज शेख लहान २०७४ श्रावन २ -
सिरहाको लहानमा निःशुल्क शल्यक्रिया स्वास्थ्य शिविरका लागि अमेरिकन डाक्टरहरुको जुम्बो टोली आइरहेका छन्। शिविरमा अलोहा मेडिकल मिशन अमेरिकासँग आवद्ध डाक्टरहरुको टोली लहान आउन लागेका हुन् । शिविर संचालन समितिका संयोजक विजय गुप्ताका अनुसार अगामी कार्तिक २० गते देखि ३० गते सम्म १० दिन चल्ने शिविरमा कार्डियोलोजी डाक्टर विकाश गुप्ताको नेतृत्वमा ४२ जनाको डाक्टरहरुको टोली लहान आउन लागेका हुन् शिविरमा पाठेघर, हर्निया, पत्थरी, पाइल्स, पित्तथैली, खन्डे ओठ , हाइड्रोशिल , लिङ्गमा छाला टासेको,मलद्वार वरिपरिको समस्या ,आङ्ग खसेको ,पाठेघर ,अन्डासयमा टियुमर, दातको समस्या लगायतका विरामीको निशुल्क शल्यक्रिया गर्ने र नक्कली हात वितरण गर्ने रहेको छ।
विगत चार बर्षदेखि निरन्तर डा. विकाश गुप्ताले अमेरिकाबाट डाक्टरहरुको टोलि ल्याएर नेपालमा शिविर संचालन गरिरहेका छन् । पहिला सन् २०१२ मा संचालन भइसकेको उक्त शिविर पुनः चार बर्ष पछि लहानमा फेरी संचालन हुँदैछ भने धनकुट्टामा तीन पटक संचालन भइसकेका छन्। चार शिविरमा गरी नेपालका करिब १५ सय विरामीको शल्यक्रिया भएको शिविर संचालन समितिका सदस्य राकेश गुप्ता रोशनले जानकारी दिएका छन्। नेपालका गरिब , विपन्न तथा दलित विरामीलाई लक्षित गरि संचालन हुन् गइरहेको उक्त शिविरमा प्रत्येक बर्ष झैँ यो बर्ष पनि करिब ३ सय गरिब , विपन्न , दलित समुदायका विरामीको शल्यक्रिया शिविरमा हुने संचालक समितिका सदस्य राकेश झाले जानकारी दिएका छन्।
शिविर लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा संचालन हुनेछ। विरामीले नाम दर्ता लहान अस्पताल, आदित्य मेडिकल केयर सेन्टर लहान , सिरहा जिल्ला अस्पताल सिरहा र सगरमाथा अञ्चल अस्पताल राजविराजमा गराउन सकिने संचालन समितिले जनाएको छ । नाम दर्ता निःशुल्क गरिने र कसैले रकम मागे आफूलाई सम्पर्क गर्न संचालन समितिका संयोजक विजय गुप्ताले जनाएका छन्। शिविर संचालनमा राजनीतिक दलका प्रतिनिधिहरु, संचारकर्मी र लहान अस्पताल संचालक समिति संगै अस्पतालमा कार्यरत डाक्टरहरुले सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । निःशुल्क शल्यक्रिया स्वास्थ्य शिविर मातृभूमि विकाश मंच र अलोहा मेडिकल मिशन अमेरिका संयुक्त आयोजनामा हुन् गइरहेको छ।