शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
त्रिशुलीमा भएको सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या ३१ पुग्यो
कार्तिक १२, २०७४ | शुभ नारायण यादव

शुभ नारायण यादव
सप्तरी,११ कार्तिक । 
धादिङमा शनिवार बिहान त्रिशुली नदीमा बस खस्दा जिल्लाका ३१ जना भन्दा बढीको मत्यु भएपछि अहिले सिङ्गो सप्तरी जिल्ला शोकमग्न भएको छ । सो दुर्घटनामा परी शनिबार बेलुकासम्ममा ११ जना पुरुष ,८ जना महिला ,५ जना बालक तथा ५ जना बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ । जसमध्ये २ जनाको अझै सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । दिपावली र छठ मनाएर आपनो काममा फर्किरहेकाहरुको उक्त दुर्घटनामा मृत्यु भएको हो । आफन्तको मृत्यु भएको खवरसँगै ती गाउँका धेरै घरहरुमा आज चुल्हो बलेको छैन् । ज्यान गुमाएकाहरुको टोलमा रुवावासी नै चलेको छ । 

 सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका १ तिलाठी बस्तीमा शनिबार बिहानैदेखि रुवावासी छ । तिलाठीका पंडित रमानाथ झाको सिंगो परिवार नै धादिङ दुर्घटनामा परि ज्यान गुमाएको छ । २ छोरा, बुहारी,२ नातिसहित उनको परिवारका ६ जनाको उक्त घटनामा मृत्यु भएको हो ।  रमानाथ झाका छोराहरु संजितकुमार झा र अंजितकुमार झा, संजितकी श्रीमती सिम्मी झा र संजितका छोरा अभिनव झाको मृत्यु भएको तिलाठीका वडाध्यक्ष दिनेश्वर मिश्रले जानकारी दिनुभयो । संजितका कान्छा छोरा प्रतिक बेपता छन् । यस्तै संजितका सालो बिटु झा ठुली सासुआमा चन्द्रिकादेवी झाको समेत ज्यान गएको छ । संजितकी साली पुजा अझै वेपता छिन् । संजित नेपाल बैंक लिमिटेड चावहिल शाखामा सातौं तहमा कार्यरत थिए । त्यस्तै सप्तरीको बोदेबसाईन नगरपालिका १ का एकै परिवारको चार जनाको मृत्यु भएको छ । जिल्लाको बोदे बर्साइन नगरपालिका ७ मानराजा निवासी चतुर नारायण प्रमाणीको परिवारमा पनि यो बस दुर्घटनाले कहर ल्याइदिएको छ। 

प्रमाणीका चार छोरी त्यही बसबाट काठमाडौं जाँदै थिए । काभ्रेमा शिक्षण पेशा गर्दै आएका प्रमाणीले पत्नी र छोरीहरुलाई काठमाडौंमै राख्दै आएका थिए । ६ जना छोरीमध्ये चार जना काठमाडौंमै अध्ययन गरिरहेका थिए । छठ पर्व मनाउन सप्तरी आएका उनीहरु काठमाडौं फर्किँदै थिए । काठमाडौं फर्किरहेका उनका छोरीहरु चित्ररेखा, चन्द्र रेखा, चित्रलेखा र चन्द्र लेखा माझीको पनि सो दुर्घटनामा परी मृत्यु भएका छन् ।छोरीहरुलाई बसमा चढाएर आफू र पत्नी मोटरसाइकलमा जाने सोच बनाएका थिए शिक्षक प्रमाणीले । मोटरसाइकलबाट काठमाडौंतर्फ जाने तयारी गरिरहेकै अवस्थामा उनलाई छोरीहरु दुर्घटनामा परेको खबर आएको थियो ।‘दाइ जाने तरखर गरिरहनुभएको थियो एक्कासी दुर्घटनाको फोन आयो’ चतुरनारायणका भाइ देबनारायणले भने, ‘काठमाडौं गइरहेका चारै जना भतिजीहरुको मृत्युको खबरपछि दाइ, भाउजु र आफू घट्नास्थलतिर गएका छौं ।’ सो दुर्घटनामा मृत्यु भएका बेल्ही चपेना गाउँपालिका वडा न. ३ नर्घाेका रमानन्द यादव पनि काठमाडौंमा अध्ययन गर्दै आएका थिए ।

यता यात्रुवाहक बस त्रिशुलीमा खस्दा कम्तिमा ३१ जनाको मृत्यु भएको छ । मृतकको संख्या अझै बढ्न सक्ने प्रहरीको भनाइ छ ।दुर्घटनामा ज्यान जानेमा सप्तरी तिलाठीकोइलाडी गाउँपालिका वडा नम्बर ६ की ३५ वर्षकी सिसिपी कुमारी झा, तिलाठीकोइलाडी गाउँपालिका वडा नम्बर ३ का  ३८ वर्षका रञ्जितकुमार झा, तिलाठीकोइलाडी गाउँपालिका वडा नम्बर १ का ३३ वर्षका अञ्जितकुमार झा, बोदेबर्साइन गाउँपालिका वडा नम्बर २ का ६ वर्षका आदित्य यादव, बोदेबर्साइन गाउँपालिका वडा नम्बर ३ की चन्द्र रेखा प्रणामी, सप्तरी नेरेया निवासी २४ वर्षका रामान्द यादव, २५ वर्षकी पार्वती र ३ वर्षका सुशन चौधरी, गाडी सहचालक सप्तरी जिल्ला देउरीमरुवा निवासी नरेश मुखिया, राजविराज नगरपालिका १६ का ७४ वर्षकी चन्द्रावती झा, सिरहा गोलबजार ८ का ५० वर्षका राज कपुर यादव, भारत मधुवनीका ममतादेवी ठाकुरको सनाखत भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक बरुण सिंहले जानकारी दिनुभयो । 

यसैगरी सप्तरी जिल्ला कृष्णसबरन गाउँपालिका वडा नम्बर ४ का २८ वर्षका सुधिरा यादव, कृष्णसबरन गाउँपालिकाका ५ वर्षकी सदिक्षा यादव, सप्तरी बसेज निवासी ३० वर्षका सुरेन्द्र चौधरी, बोदेबर्साइन गाउँपालिका वडा नम्बर २ की अस्की कुमारी यादव, राजविराज नपा वडा नम्बर १३ का ऋषि आनन्ददेव, सिरहा नगरपालिकाका ३० वर्षका उदय मंडल, सप्तरी महादेवा गाउँपालिका वडा नम्बर ९ का प्रमोद इसार, राजविराज नगरपालिका वडा नम्बर १४ का २० वर्षका आदित्य झाको सनाखत भएको प्रहरीले जनाएको छ । सप्तरीको राजविराजबाट काठमाडौंका लागि छुटेको ना ६ ख १४६७ नम्बरको यात्रु बस नदीमा खसेर हराएको थियो । घाइते मध्ये सप्तरीको राजविराज नगरपालिका ६ का दुर्गानन्द चौधरी र अभिषेक चौधरीको काठमाडौंको ट्रमा सेन्टरमा उपचार भैरहेको छ भने अरुको गजुरी अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।उक्त घटनाले सप्तरी मात्र नभई पुरै देश नै शोकमय बनेको छ ।

देश
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.