10 Views
रमिता नेपाल। जेष्ठ २४, २०७९- लहान :
लहान नगरपालिका शिक्षा समितिको पहिलो बैठक सम्पन्न भएको छ। समितिको पहिलो बैठकले विभिन्न निर्णयहरु गरेका छन। लहान नगरपालिका प्रमुख तथा शिक्षा समिति अध्यक्ष महेश प्रसाद चौधरीको अध्यक्षतामा बसेको बैठकले आर्थिक वर्ष २०७८/०७९को विद्यालय शैक्षिक गुणस्तर ,सुदृढीकरण एवं कार्य सम्पादनमा आधारित प्रोत्साहन अनुदान स्वरुप पशुपति आदर्श मा.वि .जनता मा.वि. सोनमती गाढा तथा श्री मा.वि. गोबिन्दपुर झिरहरीलाई प्रति विद्यालय रु.६ लाख ५० हजारका दरले बजेट उपलब्ध गराउने निर्णय गरेका छन् ।त्यसैगरी शैक्षिक पहुँच सुनिश्चितता ,अनुपचारिक तथा वैकल्पिक शिक्षा कार्यक्रम अन्तर्गत धार्मिक विधालय ( मदरसा ) हरुलाई रु. २ लाख देखि रु.२ लाख ४१ हजारसम्म अनुदान उपलब्ध गराउने तथा सामुदायिक सिकाइ केन्द्रलाई आवश्यकता अनुरुप थप अनुदान दिने निर्णय भएको जनाइएको छ।
त्यस्तै बैठकले लहान नगरपालिका अन्तर्गत पुर्व नगर शिक्षा समितिले गठन गरेका अस्थायी विद्यालय व्यवस्थापन समिती विघटन गर्ने, म्याद समाप्त भएका विद्यालयको नयाँ व्यवस्थापन समिती आषाढ मसान्त भित्र गठन गर्न पत्राचार गर्ने, पुर्व नगर शिक्षा समितिले २०७७-२०७८ मा शिक्षक सरुवा सम्बन्धि गरेका निर्णयहरु बदर गर्ने, विद्यालयमा नै दिवा खाजा बनाएर खुवाउने व्यवस्था मिलाउन निर्देशन दिने जस्ता निर्णय भएको शिक्षा शाखा प्रमुख अमिरी यादवले जानकारी गराएका छन।
यसै बीच शैक्षिक सत्र २०७८ मा थप कक्षा संचालन गर्नका लागि प्राप्त आवेदनका आधारमा विद्यालय अनुगमन तथा निरीक्षण गर्न ६ सदस्यीय समिति बनाइएको र सो समितिको सिफारिसका आधारमा थप कक्षा संचालन अनुमती प्रदान गरिने निर्णय समेत भएको शाखा प्रमुख यादवले बताए। नव गठित १२ सदस्य शिक्षा समितिको अध्यक्षमा नगरप्रमुख महेश प्रसाद चौधरी सहित सदस्यहरुमा नगर उपप्रमुख राम चलितर महतो,प्रमुख प्रशासकीय अधिकृत खेमनन्द भुषाल,महेश्वरी चौधरी,तेज नारायण चौधरी,रमिता कुमारी सदाय,डा.महेन्द्र प्रसाद चौधरी,सुधा चौधरी,उपेन्द्र कुमार चौधरी,उमेश कुमार यादव,रमिता नेपाल र सदस्य सचिव अमिरी कुमार यादव रहेका छन्।