शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
आज प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा १ करोड ७९ लाख
मंसिर ४, २०७९ | फिरोज शेख

फिरोज शेख लहान २०७९ मङ्सिर ४ - 
प्रतिनिधि सभा र प्रदेश सभामा नयाँ सदस्य (सांसद)हरु निर्वाचित गर्न आज (आइतबार) लहान सहित देशभर मतदान हुँदैछ।  देशभर बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने निर्वाचन आयोगले जानकारी दिएको छ। आइतबार हुने निर्वाचनले प्रतिनिधि सभामा पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीअन्तर्गत १६५ र समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत ११० गरी २७५ जना सांसदको छिनोफानो गर्नेछ। यस्तै, ७ वटा प्रदेश सभाका प्रत्यक्षतर्फ ३३० र समानुपातिक २२० गरी ५५० सदस्यको छिनोफानो गर्नेछ।निर्वाचनमा १ करोड ७९ लाख ८८ हजार ५७० मतदाताले आफ्नो मताधिकार प्रयोग गर्दैछन्। 

देशभरका १० हजार ८९२ मतदान स्थलमा रहेका २२ हजार २२७ मतदान केन्द्रबाट मताधिकार प्रयोग गर्ने व्यवस्था मिलाइएको प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले जानकारी दिएका छन्। यस्तै, १४१ अस्थायी मतदान केन्द्र र आफूलाई पायकपर्ने तथा आफू खटिएका मतदान केन्द्रबाट करिब ४ लाख ५० हजार अस्थायी मतदाताले प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्ने व्यवस्था मिलाइएको छ। प्रतिनिधि सभातर्फ पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीका लागि २ हजार ४१२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। यसैगरी प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ २ हजार १९९ उम्मेदवारको नाम अन्तिम बन्दसूचीमा कायम गरिएको छ। 

प्रदेश सभातर्फ पहिलो हुने निर्वाचिन हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीका लागि ३ हजार २२४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। यस्तै, प्रदेश सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ ३ हजार ७०८ जना उम्मेदवारको नाम अन्तिम बन्दसूचीमा कायम छ। प्रतिनिधि तथा प्रदेश सभाको प्रत्यक्ष निर्वाचन प्रणालीका लागि कूल ५ हजार ६३६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् भने प्रतिनिधि तथा प्रदेश सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ ५ हजार ९०७ उम्मेदवारको नाम अन्तिम बन्दसूचीमा कायम गरिएको छ।

त्यस्तै सिराहामा एक हजार सात सय बढी अस्थायी मतदाताले मत खसाल्न पाउने भएका छन्। सुरक्षाकर्मी, कर्मचारी तथा जिल्ला कारागारमा रहेका थुनुवा र कैदी गरी एक हजार ७१० अस्थायी मतदाताले समानुपातिकतर्फ मत दिन पाउने छन्।निर्वाचन अधिकृत इन्दिरा यादवका अनुसार जिल्लाका १७ स्थानीय तहका ५०५  मतदान केन्द्रमा खटाइएका नेपाली सेनासहित नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी ६६२, ९२७ कर्मचारी र सिरहा कारागारमा रहेका एक सय २१ थुनुवा तथा कैदीले प्रतिनिधिसभाका लागि समानुपातिकतर्फ अस्थायी मतदाताको रुपमा मत खसाल्दै छन्।

निर्वाचन सुरक्षाका लागि जिल्लामा परिचालन गरिएका म्यादी प्रहरीले भने मत दिन पाउने छैनन्। अस्थायी मतदाताको लागि सूची पठाउने समयमा म्यादी प्रहरीको छनौट प्रकृया चलिरहेकाले उनीहरुको नाम अस्थायी मतदाताका रुपमा छुटेकाले उनीहरु मत दिनबाट बञ्चित भएको  यादवले बताइन्। सिराहामा दुई हजार ८०९ म्यादी प्रहरी परिचालन गरिएको छ।‘कारागारमा रहेका थुनुवा र कैदी, निर्वाचनमा खटाइएका सुरक्षाकर्मी, कर्मचारीहरुको नाम समावेश गरी एक हजार ९२३ जनाको नाम अस्थायी मतदाताका लागि आयोगमा पठाइएको भएपनि रुजु गर्दा २१३ जनाको नाम काटिएर आयो,’ निर्वाचन अधिकृत यादवले भनिन्।

प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत आज भइरहेको मतदानका लागि जिल्लामा एक हजार चार सय नेपाल प्रहरी, सात सय सशस्त्र प्रहरी बल र दुई हजार आठ सय नौ म्यादी प्रहरी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले जानकारी दिए। निर्वाचन अधिकारी यादवका अनुसार मतदानका लागि जिल्लाका पाँच सय पाँच मतदान केन्द्रमा स्वयंसेवकसहित छ हजार ६० कर्मचारी परिचालन गरिएको छ।सिराहाको आठ नगरपालिका र नौ गाउँपालिकामा गरी दुई लाख २४ हजार ९९ पुरुष, एक लाख ९८ हजार छ सय ११ महिला तथा दुई तेस्रो लिंगी गरी चार लाख २२ हजार सात सय १२ मतदाता रहेका छन्।

यसै बीच सुरक्षा निकायले मधेश प्रदेशमा २ हजार १५६ मतदानस्थल र ४ हजार २३५ मतदानकेन्द्र निर्धारण गरेकोमा अधिकांश मतदानस्थल र मतदानकेन्द्रलाई अतिसंवेदनशीलमा राखेको छ । सुरक्षा निकायले मधेश प्रदेशका मतदानस्थल र मतदानकेन्द्रलाई तीन समूहमा वर्गीकरण गर्दा १ हजार २३० वटा मतदानस्थल र २ हजार ४७२ मतदान केन्द्रलाई अतिसंवेदनशीलमा वर्गीकृत गरिएको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ। यस्तै, ७७९ मतदानस्थल र १ हजार ४९८ मतदानकेन्द्र संवेदनशील, १४७ मतदानस्थल र २६५ मतदानकेन्द्र सामान्य रहेको प्रवक्ता प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिनाले जानकारी दिए।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.