शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
आज माघे संक्रान्ति पर्व धुमधामका साथ् मनाइदै , लहान ९
माघ १, २०७९ | फिरोज शेख

फिरोज शेख लहान २०७९ माघ १ - 
आज माघ १ गते अर्थात् माघे संक्रान्ति । थारू समुदायको महान् चाड माघी पर्व तथा मगर समुदाय लगायत अन्य समुदायले मनाउने चाड माघे संक्रान्ति (मकर संक्रान्ति) को अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । माघ महिनाको १ गते मनाइने यस पर्वलाई थारू समुदायले माघी भनेर मनाउँछन् र नयाँ वर्ष मान्ने गर्छन् । मगर समुदायले पनि यसलाई आफ्नो मुख्य चाडको रुपमा धुमधामका साथ मनाउँछन् भने नेपालको समस्त भूभाग, हिमाल, पहाड र तराईमा यो पर्वलाई आ-आफ्ना परम्परा, भिन्न भिन्न विशेषता र प्रकृतिले मनाउने गरेका छन् । यसै बीच सिरहाको लहान नगरपालिका वडा नम्बर ९ गोठ टोलमा माघी पर्वको अवसरमा प्रथम थारु माघी महोत्सव २०७९ हुँदैछ । श्री लहानगोठ माघी महोत्सव मेला समितिको आयोजनामा माघ १ र २ गते लहानगोठमा सो महोत्सव मनाउन लागिएको हो ।माघी पर्वलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गरी थारु संस्कृतिको संरक्षण, सम्बर्धन र प्रबर्धन गर्ने उद्देश्यका साथ महोत्सव गर्न लागिएको मूल आयोजक समितिका संयोजक तथा लहान ९ का वडाध्यक्ष घुरन चौधरीले बताउनुभयो ।आइतवार र सोमवार दुई दिनसम्म हुने महोत्सवको उद्घाटन लहान नगरपालिकाका नगरप्रमुख महेश प्रसाद चौधरीले गर्नुहुनेछ । महोत्सवमा २९ वटा स्टल राखिएको आयोजकले जनाएको छ ।

महोत्सवमा थारु सांस्कृतिक झल्किने झाखी प्रदर्शनी सँगै, भेषभुषा, अधिकारका सवालबारे बहसका साथै महोत्सवमा थारु खानपिन प्रदर्शनी एवं बिक्री, थारु सीप हस्तकला प्रदर्शन, थारु नृत्य प्रदर्शनी , गायक मनिष चौधरी र गायीका अनुमा चौधरीसंगै विभिन्न ख्याती प्राप्त कलाकारहरुको प्रस्तुती , थारू जातिले माघी पर्वमा खाने विशेष खानाका परिकारहरु ढिक्री, अन्डिक भात, खिचरी, तिलको लड्डु, लाईमुरी, भुजा, जाँडको झोल, दारू, केराको तरुवा, सक्खरखण्ड, मासुका विभिन्न परिकार संगै माछा, घोङ्घी, सिधरा, आलु सिन्की, बयरको चटनी, बरिया, चामलको गुरी, काथ्या, अन्डिक, तेलपौर, झझ्रा रोटीलगायत परिकारहरुको प्रदर्शनी सहित थारु समुदायको पौराणिक सांस्कृतिक नृत्य र गीत मघौटा, सखिया, हुर्दगङ्वा, झुम्रा, छोक्रा, दिन्नचुवा, रागनी, बडोनाच, होरी, झर्रा, लठ्हवा, मुग्रङ्हवा नृत्य लगायतका विभिन्न कार्यक्रमहरुको आयोजना गरिएको र महोत्सवको सम्पूर्ण तयारि पुरा भएको मूल आयोजक समितिका संयोजक वडा अध्यक्ष चौधरीले बताउनुभयो ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.