शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
आज ईद पर्व हर्षोल्लासका साथ मनाइँदै
बैशाख ९, २०८० | फिरोज शेख

फिरोज शेख लहान २०८० बैशाख ९ -
इस्लाम धर्मावलम्बीको महान चाड इद उल फित्र आज मनाइदै छ । हिजो बेलुका चन्द्रमा देखिएकाले आज इद मनाउन लागिएको हो ।
आज एक आपसमा खुसी साटासाट गरी ईद (इदुलफित्र) लहान सहित देशभर धुमधामका साथ् मनाइँदैछ। ईद मुस्लिम समुदायको पवित्र महिना तथा कुरआन अवतरण भएको महिना रमजान (रोजा) सकिएपछि मनाइने पर्व हो । आत्मसंयम र शुद्धिका लागि एक महिनासम्म मनाइने रमजान पर्वको रोजा (व्रत) सकिएको भोलिपल्ट यो पर्व मनाउने गरिन्छ । यस बर्ष २९ दिन रोजा बसेर हिजो सुक्रबार सूर्यास्तपछि सव्वाल महिनाको चन्द्रमा देखिएपछि आज पर्व मनाइँदै छ। लहान क्षेत्रका मुस्लिम स्थानीय इदगाहमा बिहान साढे ८ बजे जम्मा भएर सामूहिक इदको नमाज पढेका छन् । ईदको दिन बिहानै नुहाइधुवाइ गरी सुकिला, सफा कपडाका साथमा वासनादार अत्तर लगाई इदगाह (नमाज पढ्न बनाइएको विशेष खुला ठाउँ) वा मस्जिदमा जम्मा भई समूहमा नमाज पढिन्छ । सोपश्चात एकआपसमा गला मिलाएर इद मुबारक भन्दै एकआपसमा शुभकामना साटासाट गर्दै नमाजपछि ईदको विशेष परिकार सेवईका साथै अन्य मिठाइका परिकार र खानेकुरा खाएर शुभकामनासहित पाहुनालाई स्वागत गर्छन् ।

विपन्‍न, अशक्त, टुहुरा, असहाय आदिलाई दान दिएर खुसी पार्नुपर्ने यो चाडको प्रमुख विशेषता हो । रमजानको महिनामा गरिने उपासनाबाट अन्य महिनाभन्दा ७० गुणा बढी लाभ मिल्ने धार्मिक विश्वास छ। इदको नमाज पढ्नु अघि रमजानमै प्रत्येक मुसलमानले जनही १ किलो ७५० ग्राम गहुँ वा सो बराबरको मूल्य फित्तरा निकाल्नुपर्छ भने वर्षभरिको आम्दानी र सम्पत्तिबाट अढाइ प्रतिशत जकात (कर) निकाल्नुपर्छ, यस्तो फित्तरा र जकात गरिब, असहाय, दिनदुःखी मस्जिद वा मदरसामा अनिवार्य दिनुपर्ने मान्यता छ । फित्तरा र जकात इदुलफित्र अर्थात् इदको नमाज पढ्नुभन्दा अगावै निकाली सक्नुपर्छ।  
 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.